आठ पर्यटकको मृत्यु हुनुमा दुवै पक्षको कमजोरी भएको छानबिन समितिको ठहर 

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा होटलको कोठामा झ्यालढोका लगाएर हिटर बाल्दा निसास्सिएर ८ जनाको मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न बनेको समितिले आज मंगलबार सरकारलाई बुझाउने गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा ‘रिसोर्टमा तल्लो तहका कर्मचारीले पाहुनाको दबाव झेल्न नसक्दा’ दुर्घटना भएको भनिएको छ । ६ माघमा रामकुमार युकेको नाममा इमेलमार्फत रिसोर्टका ४ वटा कोठा बुक गरेर १५ जना पाहुना पुगेका थिए । लगातारको हिमपातले अत्याधिक चिसो भएको दामनमा त्यो दिन रातको ९ः३० बजेतिर पाहुनाहरु रिसोर्ट पुगेका थिए । रिसोर्टले पाहुना चेकइनका साथै खाना खाने, मदिरा पिउने तथा सुत्ने समयबारे वास्ता गरेन । रिसोर्टले राति ११ बजे खाना खुवायो भने १ बजेसम्म मदिरा सेवन गर्न दिएको छानबिन समितिको अध्ययनका क्रममा पाइएको छ । छानबिन समितिकाअनुसार रिसोर्टले पाहुनालाई उक्त भेगमा हुने चिसोको मात्राबारे जानकारी नै गराएको थिएन । रिसोर्टमा पार्किङबाट लबीसम्म पुग्न केही समय हिँड्नुपर्छ । जंगलको बाटो करीव १० र १५ मिनेट हिँडेपछि मात्र लबीमा पुग्न सकिन्छ । अत्याधिक चिसोमा हिडदै जानुपर्दा पाहुनाले असहज महसुस गरेको र  बालिकालिका सहित आएका उनीहरुसँग दामनको चिसो थेग्नसक्ने न्यानो लुगाको व्यवस्था नभएको छानबिन समितिले पाएको छ । त्यो दिन रातको १२ बजे रिसोर्टका महाप्रवन्धक शिवजी केसी र रिसेप्सनिष्ट राजकुमार बास्ताकोटी सुत्न गएका र तीन जुनियर कर्मचारीमात्र रिसोर्टमा रहेका थिए । त्यतिन्जेल भारतीय पर्यटकमध्ये दुई परिवारका ६ जना सानो विद्युतीय हिटर लिएर सुत्न गइसकेका थिए । अर्को दुई परिवारका ८ जनामध्ये एक बालकलाई कोठामा सुताएर अरु भने रेष्टुरेन्टमा ६ फिट अग्लो हिटर तापेर मदिरा सेवन गर्दै बसेका थिए । राति १ बजेपछि अत्याधिक चिसो भएको भन्दै कोठामा जाने भए, तर कोठामा चिसो हुने भन्दै त्यही ठूलो ग्यास हिटर लैजाने प्रस्ताव गरे । रिसोर्टका जुनियर कर्मचारीले कोठामा ग्यास हिटर बालेर सुत्दा खतरा हुनसक्ने भन्दै लैजान रोकेका थिए । तर पाहुनाले ‘बच्चालाई चिसोले असर गरेमा तिमीलाई गाह्रो पर्नेछ’ भन्दै धम्क्याएपछि उनीहरुले मौन स्वीकृति दिएको पाइएको छ । कर्मचारीले हिटर कोठामा लैजान सहयोग गरी झ्याल खुला राख्न अनुरोध गर्दै रातको साढे २ बजे कोठाबाट फर्किएको छानबिन समितिको अध्ययनले देखाएको छ । तर झ्याल ढोका बन्द गरेर सुत्दा भारतको केरलाबाट आएका उनीहरुमध्ये प्रवीणकृष्ण नारायण, शारणय शशी, रञ्जितकुमार एपी, इन्द्रलक्ष्मी, श्री भद्र, आर्चा प्रविण, अभिन शौरणय नायर र बैष्ण रञ्जितको ज्यान गएको थियो । रिसोर्टका कर्मचारीले पटकपटक गरेको आग्रह नमान्नु, एउटै कोठामा क्षमताभन्दा बढी सुत्नु पनि दुर्घटनाको कारण मानिएको छ । रिसोर्टका कोठाहरुमा विद्यूतीय यन्त्र जडान भएको तर त्यसको तातोमा पाहुना सन्तुष्ट नभएको प्रतिवेदनमा उल्लेख छ । उनीहरु सुतेको कोठामा वातावरण अनुकूल बनाउने विद्युतीय यन्त्र जडान भए पनि पर्याप्त मात्रामा विद्यूत आपूर्ति हुन नसक्दा यन्त्रले राम्रोसँग काम नगरेको छानबिन समितिले भेटाएको छ । दामनको स्तरीय रिसोर्ट मध्ये पानोरमा रिसोर्ट पनि एक भएपनि भूकम्पपछि उक्त रिसोर्ट राम्रोसँग चल्न सकेको थिएन । रिसोर्टका सञ्चालकले ५ वर्षका लागि भाडामा दिएपछि युवा व्यवसायी सुदेश गौतमले सो रिसोर्टलाई चलाउनु भएको छ । छानबिन समितिले रिसोटका पूर्वाधार र उपकरण पुराना भइसकेको तथा नियमित मर्मत नगरिएको पाइएको बताएको छ । साथै दक्ष जनशक्ति र अनुभवी कर्मचारी अभाव भएको तथा पाहुनालाई सम्हाल्न सक्ने कर्मचारी भएको भए दुर्घटना टर्नसक्ने सम्भावना समितिले देखाएको छ । समितिले होटेल–रिसोर्टले मापण्दड पूरा गरे–नगरेको सम्बन्धमा नियमित अनुगमन गर्न सुझाव दिएको छ । होटेल र रिसोर्टले पाहुनालाई मौसमअनुसार आवश्यक सर–सामान बोक्नु पर्नेबारे अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था समेत गर्न समितिले सुझाव दिएको छ ।
 

प्रतिकृया दिनुहोस

रामग्रामको गुरुयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु      

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको

सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक र व्यवसायी मर्कामा

भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको

बुद्धमङ्गल ताल ओझेलमा

पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा